AarthikBikash
बुधबार, जेष्ठ १३, २०८३
  • होमपेज
  • राजनीति
  • पूर्वराजा ज्ञानेन्द्रलाई बालेनले गरेको जरिवानाप्रति थापाको आक्रोश : पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ

पूर्वराजा ज्ञानेन्द्रलाई बालेनले गरेको जरिवानाप्रति थापाको आक्रोश : पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ

  • शनिबार, चैत्र १५, २०८१
पूर्वराजा ज्ञानेन्द्रलाई बालेनले गरेको जरिवानाप्रति थापाको आक्रोश : पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ

काठमाडौं-राजावादीको आन्दोलनका क्रममा शुक्रबार फोहोरमैला गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना बुझाउन पत्राचार गरेका छन् ।

महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो ।

काठमाडौं महानगरपालिकाका फरक फरक नगर प्रहरी निरीक्षकहरुले हस्ताक्षर गरेको पत्रमा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गरिएको ब्यहोरा उल्लेख गरिएको छ ।

राजावादीहरुले हिजो गरेको आन्दोलन हिंस्रात्मक बन्दा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने करोडौंको निजी र सरकारी सम्पत्तिमा क्षती पुगेको छ ।

हिजै सभा गरेको समाजवादी मोर्चालाई भने कुनै जरिवाना नगरेको महानगरपालिकाले कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख, महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख, तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख र जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

त्यसैगरी बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख, सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख, महानगरको दमकल फुटाएको– १ लाख ३० हजार, तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार र तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार सहित ७ लाख ९३ हजार जरिवाना तोकेको हो ।

महानगरले उक्त जरिवाना तोकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भने महानगरको उक्त निर्णय हास्यास्पद भएको भन्दै खिल्ली उडाएका छन् । उनले सामाजिक सञ्जालमार्फत महानगरको निर्णय हास्यास्पद भएको बताएका हुन् ।

मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु भन्दै अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्–‘तिनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ। ‘गलत ठेगानामा पठाईएको पत्र’ जस्तो ‘स्टण्ट’ भयो।

मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु। संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्विकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ।

पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ।

सम्बन्धित समाचार