काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ओली र कार्लोसबीच भेट भएको हो ।
कार्लोस नेपाल सुरपल लिग (एनएसएल)को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन् ।
प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै नेपाल आगमनले नेपाली खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे ।
भेटपछि आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।
५२ वर्षीय ब्राजिलियन स्टार रोबर्टो कार्लोस मंगलबार नेपाल आएका हुन् । कोर्लोस २००२ को विश्वकप विजेता खेलाडी हुन् । उनले ३ पटक विश्वकप खेलेका छन् ।
उनी नेपाल सुपर लिग सिजन २०२५ को विशेष अतिथीको रुपमा नेपाल आएका हुन् । उनले बुधबार दशरथ रंगशालास्थित नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा रंगशालामा आउने तालिका रहेको छ।