काठमाडौं-शुक्रबार अपराह्न हेटौंडामा जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अझै भेटिएको छैन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडकमा गाडी भासिएको थियो ।
ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी भासिएर जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ ।
रोकिराखेको ठाउँमा एक्कासि सडक भासिँदा उक्त भ्यान बेपत्ता भएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको मकवानपुर प्रहरीले जनाएको छ ।
गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ ।