काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता रहेका बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय भएको उनले बताए ।
‘प्रचण्ड’ले भने, ‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन एवं महान जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ । प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता हो, यस आवश्यकतालाई व्यावहारतः कार्यान्वयन गर्न प्रेस जगत निरन्तर लाग्ने विश्वास लिएको छु ।’
अध्यक्ष दाहालले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्दै समृद्ध, उन्नत र समतामूलक समाज निर्माण गर्न प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।