काठमाडौं-पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पाकिस्तानको उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डलको नेपाल भ्रमणबारे संसदमा प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा नेता साउदले पाकिस्तानी सेनाको नेपाल भ्रमण गराउनु उचित नभएको भन्दै प्रश्न उठाएका हुन् ।
उनले पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहितको २६ जनामृत्यु भएको घटनालाई लिएर दुई देशबीच द्वन्द्व चलिरहेको समयमा पाकिस्तानी सेनाको नेपाल भ्रमण गराउनु उचित नभएको साउदले बताए ।
भारत र पाकिस्तानबीच गम्भीर तनाव भएको समयमा पाकिस्तानी सैन्य भ्रमण स्थगन गर्नु पर्ने उनको माग छ ।
“पहलगाम आतंककारी घटनाले छिमेकी भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति उत्पन्न गराएको छ । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भइसकेको छ,” साउदले भने, “तर, छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्थानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ ।”
उनले भ्रमण पूर्वनिर्धारित नै भए पनि परिस्थिति आंकलन गरेर स्थगित गर्नु पर्ने बताए । नेपाली सेनाले वैशाख २१ गते विज्ञप्ति जारी गरी भ्रमणबारे औपचारिक जानकारी गराएको थियो ।