काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिएका छन् । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नमा विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको बताएका छन् ।
प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखा परेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ भएको भन्दै यसलाई यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिबद्धता जनाए ।
‘जे आउँछ मजाले पचाउँछ’ भनेझैँ जे छ, त्यसैमा रम्ने हैन, काम लाग्ने जे छ, त्यसलाई सकेसम्म निरन्तरता दिने, जे असान्दर्भिक छ, त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ’, जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले, विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिककरण गर्ने प्रस्ताव गरिएको हो ।’
उनले थालेको काम सक्ने घोषित नीति अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गर्ने, चालु परियोजनाहरूलाई ‘आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न हुने र प्रतिनिधिसभाको यस अवधिभित्र सम्पन्न हुने’ गरी वर्गीकरण गरी निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति पनि नयाँ भएको बताए ।