काठमाडौं-नेपाल प्रहरीका आईजीपी दीपक थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा निर्देशन दिंदै आईजीपी थापाले यस्तो बताएका हुन् ।
आईजीपी थापाले भने–‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनु ।’
हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै उनले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताए ।
व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढिकरण एवम् शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह प्रहरी संगठनको प्राथमिकता रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई मनन गरी व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्नेमा उनको जोड थियो ।
प्रहरी महानिरीक्षक थापाले हालसम्म उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न निर्देशन दिए ।
सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्दै सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न उनले निर्देशन दिए ।
आईजीपी थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताए ।
यही जेठ १५ गते राजावादीले गर्ने भनिएको प्रदर्शनका सन्दर्भमा उच्च सतर्कता अपनाउन जोड दिंदै आईजीपी थापाले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने बताए ।
विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्था गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्नुपर्नेमा जोड दिँदै सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गरी मजबुद सुरक्षा व्यवस्थापनको लागि प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उनको भनाई थियो ।
उनले चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप सक्रिय हुनपर्ने एवम् ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने उनको भनाई थियो ।
सोही सन्दर्भमा उनले प्रहरी अधिकृतले मातहतका कर्मचारीलाई कुटपिट गरेको घटनाले प्रहरी सङ्गठनलाई बदनाम गरेको बताए ।
गलत काम गर्ने कर्मचारीलाई सङ्गठनको विधिअनुसार कारबाही हुने आईजीपी थापाको भनाइ छ ।