काठमाडौं-हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीसहित चार बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ ।
हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको हो । फिर्ता गरिने शवहरूमा विपिन जोशीसँगै इजरायली नागरिक गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
विज्ञप्तिअनुसार, अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिने योजना बनाइएको छ। इजरायली सुरक्षा अधिकारीहरूले पनि रेड क्रसमार्फत शवहरू प्राप्त गर्ने तयारी भइरहेको पुष्टि गरेका छन् ।
विपिन जोशी सन् २०२३ अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गर्दा बन्धक बनाइएका १० नेपाली विद्यार्थीमध्ये एक हुन् । उनी इजरायलको दक्षिणी क्षेत्रमा रहेको अलुमिम कृषि फार्ममा अध्ययनरत थिए ।