काठमाडौं-माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा ५ जना प्रदेश सांसद र ७ जना स्थानीय तहका पदाधिकारीले भोट हाल्न नपाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार पदमुक्त भएका र निलम्बनमा परेका १२ जनाले भोट हाल्न नपाउने भएका हुन् । यसकारण उनीहरूको नाम मतदाता नामावलीमा समावेश नगरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली स्वीकृत भइसकेको छ ।
स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यमध्ये अदालतको आदेशबमोजिम पदमुक्त भएका १ जना र निलम्बनमा परेका ४ जना गरी जम्मा ५ जना प्रदेशसभा सदस्यको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।
त्यस्तै स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका १ जना र निलम्बनमा रहेका ७ जना गरी जम्मा ८ जना स्थानीय तहका पदाधिकारीको नाम पनि मतदाता नामावलीमा समावेश गरिएको छैन ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था छ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४३ जनाले मतदान गर्न पाउने छन् । यो प्रारम्भिक मतदाता नामावलीको तथ्यांक हो ।
आयोगका अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । पुस २० गते दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको छ ।
यसरी परेको निवेदन तथा उजुरीमाथि पुस २१ र २२ गते छानबिन गरी आयोगले पुस २२ गते दिउँसो ३ देखि ४ बजे भित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।
कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो ।
२०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन् । राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुन्छ ।
यस पटक कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।