काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ ।
मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै विद्यार्थी भर्ना नगर्न देशभरका विद्यालयहरूलाई निर्देशन दिएको हो ।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तह मार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन अनुरोध गरिएको छ।
मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ- ‘शिक्षा नियमावली २०५९ को परिच्छेद १५ मा शैक्षिक सत्र सुरू नभई विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था छ । प्रचलित कानून र स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिनु गैरकानूनी हो । प्रचलित कानुनअनुसार भर्ना भएपश्चात मात्र स्वीकृत शीर्षकमा शुल्क लिन पाइने व्यवस्था हुँदाहुँदै विद्यार्थीबाट अग्रिम र बढी शुल्क असुलिएको, फरक शीर्षकमा रकम लिइएको र एउटै विद्यालयमा कक्षा परिवर्तन हुँदा पुनः भर्ना शुल्क लिइएको पाइएको छ ।’
कतिपय विद्यालयले शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने र एउटै विद्यालयमा अर्को कक्षामा जाँदा पनि पटक-पटक भर्ना शुल्क लिने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
शिक्षा नियमावली २०५९ को परिच्छेद १५ अनुसार शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था स्पष्ट छ। मन्त्रालयले प्रचलित कानून र स्वीकृत शीर्षकभन्दा बाहिर शुल्क असुल गर्नु गैरकानुनी भएको र यसरी उठाइएको अग्रिम शुल्क तत्काल फिर्ता गर्नुपर्ने पनि जनाएको छ। नियमको अवज्ञा गरे कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।