काठमाडौं – काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन दुई हजार ७५ नागरिकको विवरण संकलन गरेको छ ।
काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा दुई हजार ७५ जनाको विवरण सकंलन गर्दा १०८ जना तत्काल अस्पताल लगेर उपचार गर्ने अवस्था भेटिएका महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले जानकारी दिए ।
७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षणका लागि महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि सबै वडामा स्वास्थ्यकर्मीको टोली खटाएको छ ।
टोलीले ८४ वटा प्रश्नावलीको जवाफ, ज्येष्ठ नागरिकले बिताइरहेको जीवनस्तरको भौतिक र शारीरिक अवस्थाका आधारमा स्वास्थ्य सर्वेक्षण भइरहेको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले बताए ।
नागरिकलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने कार्यक्रमअन्तर्गत आगामी वर्षको स्वास्थ्य नीति, बजेट तथा कार्यक्रममा पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले सर्वेक्षण गरिएको उनले बताए ।
सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई हरियो, पहेँलो र रातो जोनमा वर्गीकरण गरिएको छ । हरियो जोन भनेको सुरक्षित अवस्था हो । यो जोनमा भएका ज्येष्ठ नागरिकलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन । यो जोनमा ९९५ जना छन् ।
पहेँलो जोनमा रहेका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । यो जोनमा ९७२ रहेका छन् ।
उपचारका लागि तत्काल अस्पताल पठाउनु पर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रातो जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा रेफर गर्ने गरिएको छ । रातो जोनमा १०८ ज्येष्ठ नागरिक छन् ।