काठमाडौं – एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा धाधँली भएको भन्दै खेलाडीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
पौडीवाज इर्भिन श्रेष्ठ, माधवी केसी र निर्णय थापाले आफुहरुलाई मौका नदिइ नेपाल पौडी संघले आफूखुसी खेलाडी छनौट गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
उनीहरुले नेपाल पौडी संघ, नेपाल ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुदलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
अदालतले दुबैपक्षलाई छलफलमा असार ३ गतेका लागि बोलाएको छ। न्यायाधिश श्रीकान्त पौडेलको एकल ईजलासले गत शुक्रबार छलफलमा आउन दुबै पक्षलाई बोलाएको हो।
पौडीवाज इर्भिन श्रेष्ठले छनौट पक्रिया अवैधानिक भएको दाबी गरे। पौडीवाज निर्णय थापाले प्रि क्वालिफिकेसनको आधा खेल सकिएपछि अवैधानिक सूचना प्रकाशित गरी अन्तिम क्वालिफिकेशनमा रुपान्तरण गर्नुलाई बदनियतपूर्ण कार्य भएको बताएका छन् ।
रिटमा खेलाडी छनोट रोकी अन्तिम छनोट प्रतियोगिता गर्न गराउन अन्तरिम आदेश माग गरिएको छ ।
रिटमा जेठ २३ र २४ मा आयोजना भएको तेस्रो नेपाल एक्वाटिक स्विमिङ च्याम्पियनशिपबाट पुरुष र महिला गरी ८/८ जना खेलाडी प्रिक्वालिफिकेशन गर्ने सूचना जारी गरिएकोमा २३ गतेको सम्पूर्ण खेल सकिएपछि २४ गते बिहान खेल सुरु हुन लाग्दा उक्त प्रतिष्पर्धालाई अन्तिम छनोट भनी अर्को सूचना प्रकाशित गरी गैरकानूनी कार्य गरिएको उल्लेख छ।
रिट निवेदक खेलाडीहरुले प्रि क्वालिफिकेशनबाट खेलाडी छानी अन्तिम प्रतिष्पर्धा गराउन समेत माग गरेका छन्।