AarthikBikash
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एमालेका पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ जेल चलान

एमालेका पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ जेल चलान

  • शुक्रबार, असार १९, २०८३
एमालेका पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ जेल चलान

जकपुरधाम – नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान भएका छन् ।

महतोलाई बिहीबार साँझ करिब ६ बजे महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरिएको थियो ।

पक्राउ पछि उनलाई आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरिएको थियो ।

अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको हो।

दोस्रो मधेश आन्दोलनको बेला २०७२ भदौ २५ गते महोत्तरीमा प्रहरी सहायक निरीक्षक (असई) थमन विकको भीडले कुटपिट गरी हत्या गरेको आरोपमा तत्कालीन एमालेका सांसद लक्ष्मी महतोसहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

तर, २०८० मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो ।

बुधबार मात्रै उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महोत्तरी जिल्ला अदालतको फैसला उल्ट्याउँदै महतोसहित अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजाय सुनाएको थियो।

अदालतको फैसला कार्यान्वयनका लागि महतोलाई  प्रहरीले गौशालाबाटै पक्राउ नियन्त्रणमा लिएको थियो ।

यस्तै, जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको सजाय पनि उच्च अदालतले घटाएर पाँच वर्ष कैद कायम गरेको छ।

तर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा भने उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेको छ।

सम्बन्धित समाचार