काठमाडौं– दोलखामा पहिरोमा पुरिँदा चार महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल निवासी १९ वर्षीया शर्मिला थामीकी चार महिनाकी छोरी एलिनाको पहिरोमा परी मृत्यु भएको हो।
घटना गएराति करिब ९ बजे भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट घर फर्किने क्रममा भएको प्रहरीले जनाएको छ। सुनखानी–साङवा सडकखण्डको क्याङपोल–हेलेक्पाथाली क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि गाडीबाट ओर्लिएर हिँड्ने क्रममा आमाछोरीमाथि एक्कासी पहिरो खसेको थियो। स्थानीयले दुवै जनाको उद्धार गरी धुलिखेल अस्पतालको दोलखा शाखामा पुर्याएका थिए। अस्पताल पुर्याएलगत्तै चिकित्सकले शिशुलाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते शर्मिला थामीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।