AarthikBikash
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • राजनीति
  • अदालतले सजाय तोकेको भोलिपल्टै रिहा भए बेचन झा

अदालतले सजाय तोकेको भोलिपल्टै रिहा भए बेचन झा

  • बुधबार, असार ३१, २०८३
अदालतले सजाय तोकेको भोलिपल्टै रिहा भए बेचन झा

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि करिब दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा भएका छन्।

नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर ठूलो रकम उठाउने गिरोहसँग मिलेर काम गरेको आरोप लागेको थियो।  उनीमाथि ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर, लिखत किर्ते तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको थियो।

त्यसपछि बेचन झा २०८१ असार १४ गते पक्राउ परेका थिए र त्यसयता पुर्पक्षका लागि कारागारमा थिए।

जिल्ला अदालत काठमाडौंले मंगलबार ठगी मुद्दामा झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो। तर उनी उक्त सजाय अवधिभन्दा लामो समयदेखि हिरासत तथा कारागारमा बसेकाले थप कैद बस्नुपर्ने अवस्था नरहेपछि बुधबार रिहा भएका हुन्।।

अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार रिहाइका लागि आवश्यक पत्राचार मंगलबार राति नै कारागार प्रशासनलाई पठाइएको थियो। सोही आधारमा बुधबार सुन्धारा कारागारबाट उनको रिहाइ प्रक्रिया पूरा गरिएको हो।

यद्यपी रिहाइपछि पनि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित मुद्दामा आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै उनी तारेखमा रहनेछन्।

सम्बन्धित समाचार