काठमाडौं – नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागि गठित उपसमितिको बैठक बसेको छ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपसमितिका संयोजक अग्नि खरेलको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ संविधान संशोधन सम्बन्धी सुझाव संकलन गर्ने प्रक्रियाबारे विस्तृत छलफल गरिएको सदस्य सचिव महेश बर्तौलाले बताए।
बैठकमा नेपालको संविधान कार्यान्वयनको हालसम्मको अनुभव, उपलब्धि तथा देखिएका व्यावहारिक चुनौतीहरूको समीक्षा गर्ने, संविधान संशोधन आवश्यक देखिएका विषयहरूको पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा छलफल भएको बताए।
राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रिया, संविधान संशोधनका लागि प्राप्त सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने विषयमा छलफल भएको बताए।
बैठकमा संयोजक खरेलसहित सदस्यहरू महेश बर्तौला, रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापाको उपस्थिति रहेको थियो। साथै पूर्व कानुन मन्त्री माधवप्रसाद पौडेल विज्ञका रूपमा विशेष उपस्थितिमा सहभागी भएका थिए।