काठमाडौं– विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । उनी नेपाल सरकारका उपसिचव हुन् । ३ साउनमा बुद्ध एयरकाे विमानमा विराटनगरबाट काठममाडाैं जाने क्रममा पक्राउ परेका थिए । उनी पक्राउ परेकाे विवरण प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेकाे हाे ।
दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङकाे झाेलामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी ६ लाख ६५ हजार रुपैयाँ फेला परेपछि प्रहरीले रकमकाे स्राेतकाे खाेजी गरेका थियाे । स्राेत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय माेरङकाे जिम्मा लगाएकाे थियाे । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे उनले बताए ।