काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल सँग शिष्टाचार भेटवार्ता गरेका हुन्। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार भेटका सुनसरीमा विकसित पछिल्लो घटनाक्रम तथा त्यस विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठकका बारेमा सभापति लामिछानेले राष्ट्रपतिलाई जानकारी गराएका छन्।
साथै, भेटमा सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्ने, राजनीतिक दलहरूबीच समन्वय बढाउने तथा शान्तिपूर्ण वातावरण निर्माणका लागि भइरहेको पहलका विषयमा पनि छलफल भएको राष्ट्रपति सचिवालयले जनाएको छ।
आइतबार सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा सुरु भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए। घटनामा गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने सर्वसाधारण, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए । उक्त हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सर्वदलीय बैठक आह्वान गरेका थिए ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी थिए । बैठकपछि दलहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न संयुक्त प्रतिबद्धता जनाएका छन्।