हेटौंडा – नेकपा एमालेले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तन नगर्ने निर्णय गरेको छ। यससँगै दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने निश्चित भएको छ।
शुक्रबार बेलुका पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र बागमती प्रदेशका सीमित नेताबीच भएको छलफलले संसदीय दलको नेता यथावत् राख्ने निर्णय गरेको हो।
निर्णयअनुसार संसदीय दलका नेता थपलियालाई नै बागमती प्रदेशको मुख्यमन्त्री बनाइनेछ।
बागमती प्रदेशका एमाले प्रमुख सचेतक एकलाल श्रेष्ठले पार्टीको विधि र पद्धतिअनुसार नै मुख्यमन्त्री चयन हुने बताए। आफू पनि छलफलमा सहभागी भएको उल्लेख गर्दै उनले अध्यक्ष र महासचिवसहितको बैठकले संसदीय दलको नेता परिवर्तन नगर्ने निष्कर्ष निकालेको जानकारी दिए।
यसअघि सञ्चार माध्यममा संसदीय दलको नेता परिवर्तन गरी किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने चर्चा चलेको थियो।
तर, एमालेले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पार्टीको परम्परालाई निरन्तरता दिने निर्णय गरेको छ।
गत साउन ९ गते एमाले–नेकपाबीच बागमती सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि संसदीय दलको नेतृत्व परिवर्तनको चर्चा चुलिएको थियो। दलका नेता जगन्नाथ थपलियाको स्थानमा किरण थापा मगरलाई ल्याउन हस्ताक्षर अभियानसमेत चलाइएको थियो।
यद्यपि, अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहित शीर्ष नेताबीच भएको छलफलपछि संसदीय दलको नेतृत्व यथावत् राख्दै थपलियालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरिएको हो ।
उनका अनुसार नेतृत्व परिवर्तन गर्दा दलभित्र ध्रुवीकरण बढ्ने, सरकार गठन प्रक्रिया लम्बिने र सत्ता गठबन्धनमा नकारात्मक सन्देश जाने निष्कर्षपछि वर्तमान नेतृत्वलाई निरन्तरता दिने निर्णय भएको हो।
संघीयता कार्यान्वयनपछि गठन भएको बागमती प्रदेशमा थपलिया सातौँ मुख्यमन्त्री बन्ने सम्भावना छ। तर सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन एमाले–नेकपा गठबन्धनलाई अझै कम्तीमा दुई सांसदको समर्थन आवश्यक पर्नेछ।
हाल प्रदेशसभामा ११० मध्ये ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्नेमा एमाले र नेकपासँग ५१ मत मात्रै छ। बहुमतका लागि कम्तीमा दुई सांसदको थप समर्थन आवश्यक रहेकाले राप्रपा, हाम्रो नेपाली पार्टी वा अन्य दलको समर्थन निर्णायक बन्ने देखिएको छ।