काठमाडौं – पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा एमालेले सरकारसँग जवाफ माग गरेको छ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल डे«स लगाएर नेपाली भूमिमा प्रवेश गरेको विषयमा सरकारसँग जवाफ माग गरेका हुन्।
उनले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाए।
उनले भने–‘आज फेरि देशको भूमिमा भारतीय सेनाले सिभिल ड्रेस लगाएर प्रवेश गरेको छ। सुस्ताको जमिनमाथि फेरि चोट पुर्याएको छ ।’
उनले सीमा सुरक्षाको विषयमा अझै कति समय संसदमा ध्यानाकर्षण गराउनुपर्ने भनेर प्रधानमन्त्री बालेलेन्द्र शाह ‘बालेन’लाई प्रश्न गरे। सीमा सुरक्षाको विषयमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न समेत सरकारलाई आग्रह गरे।
बरालले प्रश्न गर्दै भने–‘सुस्ताबासीले फेरि यसको प्रतिवादमा उत्रिनुपरेको अवस्था छ। आज देश फेरि सीमा अतिक्रमणको मुद्दाले पीडामा परेको छ । प्रधानमन्त्रीज्यू यसको संवेदनशीलतालाई महसुस गर्न यो संसदले कति समय खर्च गर्नुपर्ने हो ? कति समय ध्यानाकृष्ट गर्नुपर्ने हो ?’
सांसद बरालले सुनसरीमा भएको धार्मिक तथा सम्प्रदायिक तनाव उत्पन्न हुनुको कारण र सुरक्षा कमजोरीको विषयमा निष्पक्ष न्यायिक छानबिन गर्न पनि माग गरेका छन्।
पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गर्दै सांसद बरालले ४ जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए।
उनले भने–‘त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाएर समस्याको दिगो समाधानतिर लागौँ। यही दिशामा जाँदा देशको कल्याण हुन्छ, यसमा हठ राख्ने कुरा स्वीकार्य हुँदैन।’