AarthikBikash
सोमवार, भदौ १, २०८३
  • होमपेज
  • राजनीति
  • विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

  • सोमवार, भदौ १, २०८३
विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

सोमबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै बानियाँले राजीनामाको घोषणा गरेका हुन्।

नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ अल्पमतमा परेका थिए। त्यसपछि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाएका थिए।

तर, प्रदेश सभामा विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने सम्भावना नदेखिएपछि बानियाँले विश्वासको मतसम्बन्धी प्रक्रिया अघि नबढाई राजीनामाको घोषणा गरेका हुन्।

११० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ। नेकपाका २६ र एमालेका २५ सांसद छन्। राप्रपाका १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपाका) तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

बागमती प्रदेशमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।

तर कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा)का दुई गरी बानियाँको पक्षमा ३८ सांसद मात्रै देखिएका थिए।

एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको र अन्य दलबाट आवश्यक समर्थन जुट्न नसकेपछि बानियाँले पद छाड्ने निर्णय गरेका हुन्।

बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका थिए। आफ्नै दलभित्रको शक्ति संघर्षका बीच मुख्यमन्त्री बनेका उनी करिब एक वर्ष नपुग्दै पदबाट बाहिरिएका छन्।

सम्बन्धित समाचार