AarthikBikash
बुधबार, भदौ ३१, २०८३
  • होमपेज
  • राजनीति
  • आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदा दिने कानुन ल्याउँदै सरकार

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदा दिने कानुन ल्याउँदै सरकार

  • बुधबार, भदौ ३१, २०८३
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदा दिने कानुन ल्याउँदै सरकार

काठमाडौं – सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी गरेको छ।

कानुनमन्त्री सोबिता गौतमका अनुसार प्रस्तावित संशोधन विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने व्यवस्था गरिएको छ।

मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै व्यस्त जीवनशैली, कामको चाप र बदलिँदो सामाजिक परिवेशका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको उल्लेख गरेकी छन्।

उनका अनुसार मातृत्व र पितृत्व जीवनमा सीमित अवसरमा आउने महत्वपूर्ण समय भएकाले नवजात शिशु तथा परिवारसँग पर्याप्त समय बिताउन अभिभावकलाई अवसर दिनु राज्यको जिम्मेवारी हो।

प्रस्तावित विधेयकमा आमाका लागि कम्तीमा ६ महिनाको तलबसहितको प्रसूति बिदा र बुबाका लागि ४२ दिनसम्मको तलबसहितको प्रसूति तथा शिशु स्याहार बिदा प्रस्ताव गरिएको छ।

बच्चा जन्माउने प्रक्रिया आमासँग प्रत्यक्ष जोडिए पनि बच्चाको हेरचाह र हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको मन्त्री गौतमको भनाइ छ। उनले अभिभावकत्वलाई संयुक्त जिम्मेवारीका रूपमा स्थापित गर्ने उद्देश्यले विधेयक अघि बढाउन लागिएको बताएकी छन्।

सम्बन्धित समाचार