काठमाडौं – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो पर्व मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो पर्व भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ ।
विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।
यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ ।
सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।