काठमाडौं – अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेसँगै यात्रु र सवारीसाधनको सुरक्षालाई सुनिश्चित गर्न यो निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द गरिएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय ९गौतम०द्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरिएको छ। साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न प्रशासनले अनुरोध गरेको छ।