काठमाडौं – बाढीपहिरोका कारण प्रभावित जिल्लाको अधिवेशन प्रक्रिया पूरा हुन नसकेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सरेको छ ।
यसअघि असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको महाधिवेशन अब असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुने भएको छ ।
कांग्रेसले केही जिल्लामा अधिवेशन प्रक्रिया अझै बाँकी रहेकाले केन्द्रीय महाधिवेशनको मिति सार्ने निर्णय गरेको जनाएको छ । विपद्का कारण प्रभावित जिल्लामा अधिवेशन प्रक्रिया पूरा गर्न थप समय आवश्यक देखिएपछि मिति परिवर्तन गरिएको हो ।
कांग्रेस उपसभापति पुष्पा भुसालले पनि केही जिल्लाको अधिवेशन बाँकी रहेकाले केन्द्रीय महाधिवेशन केही दिन सर्न सक्ने बताएकी थिइन् ।
महाधिवेशन उद्घाटनमा सहभागी हुन कांग्रेसले विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूलाई निमन्त्रणा पठाइसकेको जनाएको छ ।
यता संस्थापनइतर शेरबहादुर देउवा समूहले आगामी मंसिरमा छुट्टै १५औँ महाधिवेशन आयोजना गर्ने तयारी अघि बढाएको छ।