मनाङ – मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव फेला परेको छ । यससँगै हिमपहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले थप चार शव फेला पारेको हो । उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पाले चार शव भेटिएको जानकारी दिएका छन् ।हिमपहिरोमा पुरिएका शव निकाल्ने काम भइरहेको छ । फेला परेका शवको भने पहिचान हुन बाँकी रहेको शेर्पाले बताए । गत असोज ११ गते बिहान नार्फाभूमि गाउँपालिका–५ मा समुद्री सतहबाट करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो।
हिमपहिरो जाँदा आरोही तथा सहयोगी सम्पर्कविहीन भएका थिए। यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो ।
त्यस्तै आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो । हिमपहिरोमा अझै पाँच जना आरोही तथा सहयोगी सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको शेर्पाले जानकारी दिएका छन् ।
असोज ११ गते हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो । घटनामा १६ जना हराएका थिए भने ११ जना आरोही दोस्रो दिन सम्पर्कमा आएका थिए । हिमपहिरोपछि बेपत्ताको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।