काठमाडौं – नेपाल–भारत खुला सीमाबाट हुने अवैध आवागमन, मानव तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रणदेखि सीमा अतिक्रमण हटाउनेसम्मका विषयमा छलफल गर्न नेपाल र भारतका सीमा सुरक्षा निकायको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ।
सीमा सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने, सीमा अपराध नियन्त्रण गर्ने र दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सुरु भएको बैठक शुक्रबारसम्म चल्नेछ।
बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी) सहित दुवै देशका विभिन्न सरकारी निकायका प्रतिनिधि सहभागी छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।
नेपाली टोलीमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधि सहभागी छन्। भारतीय टोलीमा गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र एसएसबीका उच्चपदस्थ अधिकारी छन्।
बैठकमा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागूऔषध ओसारपसार रोकथाम, अवैध हातहतियार र अन्य सामग्रीको तस्करी नियन्त्रण तथा सीमावर्ती क्षेत्रमा शान्ति र सुव्यवस्था कायम गर्ने विषयमा हालसम्म भएका प्रयासको समीक्षा गरिनेछ।
त्यस्तै, दशगजामा हुने अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण र सीमापार अपराध नियन्त्रणका विषयमा पनि छलफल हुनेछ। सीमापार फैलिन सक्ने महामारी तथा विपद्को जोखिम न्यूनीकरणका लागि नियमित समन्वय बैठक र तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयले समेत प्राथमिकता पाउनेछ।
नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकले गर्न सक्ने अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने, सीमा व्यवस्थापनलाई चुस्त र आधुनिक बनाउन उपयुक्त प्रविधिको प्रयोग गर्ने तथा दुवै संगठनको क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने विषय पनि बैठकको एजेन्डामा छन्।
सीमा नाकामा यात्रुको सहजताका लागि थप सहायता कक्ष स्थापना गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यमा संयुक्त सहकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि विचारविमर्श हुनेछ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने र दुवै सुरक्षा निकायबीच आपसी विश्वास बढाउने उद्देश्यले मैत्रीपूर्ण खेलकुदलगायतका गतिविधि सञ्चालन गर्ने विषयसमेत बैठकमा उठाइनेछ। सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने समस्या तथा चुनौतीको समयमै पहिचान र समाधानका लागि नियमित सम्पर्क, प्रभावकारी सूचना आदानप्रदान र संस्थागत समन्वयलाई निरन्तरता दिने विषयमा पनि छलफल हुनेछ।
बैठकले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुवै देशका सुरक्षा निकायबीचको समन्वय र सहकार्य थप प्रभावकारी बनाउने विश्वास गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले बताए।