AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • विश्व
  • गाजामा राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा आक्रमण

गाजामा राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा आक्रमण

  • आइतवार, मंसिर ३, २०८०
गाजामा राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा आक्रमण

एजेन्सी-संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ । राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सीएनएनले बताएको छ ।

विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडियोमा दुई तले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

भिडियोमा एउटा कोठामा करिब १२ शव भुइँमा धुलोले ढाकिएको देखिन्छ । त्यस्तै, डेस्कहरू छरिएका र क्षतिग्रस्त भएका छन्, कोठाको एउटा भित्तामा एउटा प्वाल देख्न सकिन्छ । सीएनएनका अनुसार भवनको छाना (धातुको) च्यातिएको र जमिनमा भग्नावशेष देख्न सकिन्छ ।

राष्ट्रसंघको राहत तथा कार्य निकाय (यूएनआरडब्लूए) का प्रवक्ता जुलिएट टौमाले घटनाको पुष्टि गर्दै मृतकको संख्या अस्पष्ट रहेको र जानकारी आउन बाँकी रहेको बताए । उनले घटना के कारणले भएको हो वा यसको जिम्मेबार को हो भन्नेबारे पुष्टि गर्न सकेनन् ।

यूएनआरडब्लूएले प्यालेस्टिनी शरणार्थी शिविरहरूमा विद्यालयहरू सञ्चालन गर्नुका साथै गाजामा राष्ट्रसंघको प्रमुख राहत एजेन्सीका रूपमा काम गर्दछ । सामाजिक सञ्जाल एक्समा तस्बिरहरूलाई ‘डरलाग्दो’ भन्दै यूएनआरडब्लूए प्रमुख फिलिप लेजारिनले घटनाको समयमा हजारौँ विस्थापितले त्यहाँ आश्रय लिइरहेको बताए ।

सीएनएनका अनुसार इजराइली सेनाले घटनाको समीक्षा गरिरहेको छ तर कुनै प्रतिक्रिया जनाएको छैन । इजिप्ट र कतारले उक्त घटनाका लागि पहिले नै इजराइलको सैन्य कारबाहीलाई दोष दिएका छन् ।

इजिप्टको विदेश मन्त्रालयले उक्त घटनालाई ‘बमबारी’ भन्दै यो गाजामा सर्वसाधारणविरुद्ध इजराइली उल्लंघनहरूको शृंखलामा नयाँ भएको बताएको छ । सीएनएनका अनुसार कतारले राष्ट्रसंघको स्वतन्त्र अनुसन्धानकर्ताहरूलाई गाजा गएर अनुसन्धान गर्न आह्वान गरेको छ ।

यूएनआरडब्लूएले उत्तरी गाजामा रहेको आफ्ना विद्यालयमा २४ घन्टामा यो दोस्रो आक्रमण भएको जनाएको छ । जैतुनमा रहेको अर्को विद्यालयमा शुक्रबार आक्रमण भएको थियो । उक्त विद्यालयमा चार हजार मानिसले शरण लिइरहेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार