काठमाडौं – देशका विभिन्न भागमा अविरल वर्षा भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ।
बाढी, पहिरो तथा डुबानको जोखिम बढेकाले विशेष सतर्कता अपनाउन आग्रह गर्दै विभागका मौसमविद् रोजन लामिछानेले हतारमा धान काट्दा बालीसँगै जनधनको क्षति हुनसक्ने बताएका छन्।
‘किसान तथा सर्वसाधारणले धान नकाट्नुहोला। मौसमको अवस्था बुझेर मौसम खुलेपछि मात्र त्यसको योजना बनाउनुहोला,’ लामिछानेले भने।
उनका अनुसार पूर्वी भूभागमा मौसम क्रमशः सुधार हुँदै गए पनि पश्चिमी क्षेत्रमा भोलि दिउँसोसम्म वर्षाको प्रभाव रहने देखिएको छ। पश्चिमी क्षेत्रमा पछिल्ला तीन–चार दिनदेखि निरन्तर वर्षा भइरहेकाले थप वर्षाको सम्भावनासमेत रहेको उनले बताए।
जमिन चिरा परेको वा सानो पहिरो देखिएको स्थानमा जोखिम उच्च हुने भन्दै विभागले त्यस्ता क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन आग्रह गरेको छ।
त्यस्तै, नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जलसतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ। स्थानीय प्रशासन तथा प्रहरीले गर्ने माइकिङ र साइरनलाई बेवास्ता नगर्न विभागले आग्रह गरेको छ।