AarthikBikash
शनिबार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाज
  • सिन्धुलीमा अटो दुर्घटना हुँदा गर्भवती महिलासहित ७ घाइते

सिन्धुलीमा अटो दुर्घटना हुँदा गर्भवती महिलासहित ७ घाइते

  • शनिबार, कार्तिक २२, २०८३
सिन्धुलीमा अटो दुर्घटना हुँदा गर्भवती महिलासहित ७ घाइते

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा गर्भवती महिलासहित सात जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लुप्र०१–००१ स ८१४० नम्बरको अटो बिहीबार दिउँसो साढे १ बजे अनियन्त्रित भएर सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको थियो।

दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ निवासी ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन्।

त्यस्तै, पहिचान नखुलेकी ३३ वर्षीया गर्भवती महिला, १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समीक्षा पहरी, ९ वर्षीय प्रवास पहरी, ७ वर्षीया स्वस्तिका पहरी र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरेकी ६० वर्षीया पातलीमाया भोलन गम्भीर घाइते भएका छन्।

दुर्घटनामा घाइते सबैलाई उपचारका लागि मकवानपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

दुर्घटनाग्रस्त अटो भने घटनास्थलमै रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार