काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले काममा लापरबाही गर्ने २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई एक वर्षदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कार्यालयको कात्तिक २० गतेको निर्णयअनुसार कात्तिक २१ गते सूचना जारी गर्दै कालोसूचीमा परेका कम्पनीहरूको विवरण सार्वजनिक गरिएको छ ।
कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । यससँगै उनीहरूलाई सरकारी तथा सार्वजनिक निकायका ठेक्का र खरिदसम्बन्धी काममा सहभागी हुन रोक लागेको छ ।
विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको जनाएको छ ।
सार्वजनिक खरिद प्रक्रियामा जिम्मेवारीअनुसार काम नगर्ने तथा सम्झौताका सर्त पालना नगर्ने निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कारबाही गर्ने कानुनी व्यवस्थाअनुसार कार्यालयले यस्तो निर्णय गरेको हो ।