AarthikBikash
आइतवार, अशोज २५, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • रियाद विमानस्थलमा घातक आक्रमण : १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद विमानस्थलमा घातक आक्रमण : १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

  • आइतवार, अशोज २५, २०८३
रियाद विमानस्थलमा घातक आक्रमण : १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

एजेन्सी – साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।

साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान घटनाबारे जानकारी दिएका हुन्।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार, विमानस्थलको आन्तरिक उडान सञ्चालन हुने टर्मिनल ३ र ४ रहेको परिसरमा क्षेप्यास्त्र प्रहार भएको थियो। आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा चार जना साउदी नागरिक र आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी मृतकमध्ये बंगलादेशका दुई जना तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना छन्।

आक्रमणको जिम्मेवारी साउदी नेतृत्वको गठबन्धनले छिमेकी यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीमाथि लगाएको छ। पछिल्लो एक सातायता विमानस्थलमा भएका विभिन्न आक्रमणमध्ये यो सबैभन्दा घातक भएको समाचारमा उल्लेख छ।

घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीविरुद्ध साउदी अरबले गर्ने सैन्य कारबाहीमा अमेरिका सहभागी हुने वा नहुनेबारे विचार भइरहेको बताएका छन्। उनले घटनाबारे जानकारी प्राप्त भएको र आवश्यक निर्णय छिट्टै गरिने बताएका हुन्।

ट्रम्पले शनिबार साउदी युवराज मोहम्मद बिन सलमानसँग कुराकानी गर्ने योजना रहेको पनि बताएका थिए। साउदी अरबमा भएको घटना स्वीकार्य नभएको प्रतिक्रिया दिँदै उनले यसबारे चासो व्यक्त गरेका छन्।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन्।

यमनमा साउदी समर्थित सरकारी सेना र हुथी विद्रोहीबीच संघर्ष जारी रहेका बेला भएको यस आक्रमणले खाडी क्षेत्रमा क्षेत्रीय तनाव थप चर्किने चिन्ता बढाएको छ।

जारी द्वन्द्वले साउदी अरब र उसका सहयोगी राष्ट्रहरूको सुरक्षा चुनौतीसमेत थप जटिल बनाएको छ।

सम्बन्धित समाचार