काभ्रे – खानेकुरा र पेय पदार्थमा नसालु पदार्थ मिसाएर सर्वसाधारणलाई बेहोस बनाई सुनका गरगहना, मोबाइल र नगद लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार श्रृंखलाबद्ध लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की), धुलिखेल नगरपालिका–१ का ३८ वर्षीय वीरध्वज तामाङ, दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुर थिमी नगपालिका–४ का ४६ वर्षीय नवराज घिमिरे विक र काभ्रेको नमोबुद्ध नगरपालिका–१ घर भइ हाल बनेपा–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार रहेका छन्।
प्रहरीका अनुसार गिरोहले विशेषगरी वृद्धवृद्धालाई निशाना बनाउँदै खानेकुरा वा दूधमा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस भएपछि गरगहना तथा नगद लुट्ने गरेको थियो ।
गिरोहले बनेपा, धुलिखेल र नमोबुद्ध क्षेत्रमा विभिन्न समयमा लुटपाट गरेको खुलेको छ । उनीहरूले ५४ वर्षीया गङ्गा गुरुङ, ७० वर्षीया हिरामाया जिम्बा, ७४ वर्षीय हस्तबहादुर जिम्बा, ५१ वर्षीय हेमबहादुर बस्नेत र ६७ वर्षीया पञ्चमाया तामाङलाई निशाना बनाएको प्रहरीले जनाएको छ ।
लुटपाटका क्रममा पीडितबाट सुनका रिङ, तिलहरी, सिक्री, बाला, औँठी, मोबाइल र नगद चोरी गरिएको थियो । नसालु पदार्थ खुवाइएका केही पीडितले चारदेखि सात दिनसम्म अस्पतालमा उपचार गराउनुपरेको थियो ।
प्रहरी अनुसन्धानबाट लुटिएका गरगहना विभिन्न सुनचाँदी पसलमा बिना बिल बिक्री गर्ने र स्वरूप परिवर्तन गरी कारोबार गर्ने गरेको खुलेको छ । पक्राउ परेका चारै जनालाई अनुसन्धान पूरा गरी अभियोजनका लागि सरकारी वकिल कार्यालयमा पेस गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका केही व्यक्ति यसअघि पनि चोरी तथा डाँकासम्बन्धी मुद्दामा संलग्न रहेको र धरौटीमा छुटेको विवरण खुलेको छ । उनीहरूबाट विभिन्न सामग्री बरामद गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।