AarthikBikash
बुधबार, मंसिर १०, २०८३
  • होमपेज
  • राजनीति
  • सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको घोषणा

सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको घोषणा

  • बुधबार, मंसिर १०, २०८३
सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्‌मा घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको बताएकी छन्।

राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री मेहताले आवश्यक उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने जानकारी दिइन्।

प्रादेशिक ट्रमा सेन्टर स्थापनापछि सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणालीसमेत व्यवस्थित हुने उनको भनाइ थियो।

मन्त्री मेहताले दुर्घटनापछिको उपचारलाई प्रभावकारी बनाउन अस्पतालपूर्वको आकस्मिक सेवालाई प्राथमिकता दिइएको बताइन्।

सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको जानकारी दिँदै उनले देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा क्रियाशील बनाइएको उल्लेख गरिन्।

एम्बुलेन्सलाई सामान्य यातायातको साधनबाट आकस्मिक उपचार सेवा उपलब्ध गराउन सक्ने साधनका रूपमा विकास गर्ने सरकारको नीति रहेको पनि उनले स्पष्ट पारिन्।

उनले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नराखी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्नेमा जोड दिइन्। दुर्घटनापछि देखिन सक्ने शारीरिक अपांगता र मानसिक समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना सेवाको विस्तार गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।

विपद्, महामारी तथा सवारी दुर्घटनाका समयमा सेन्टरले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उनले विशेषज्ञ उपचार सेवा स्वदेशमै विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको बताइन्।

सम्बन्धित समाचार