मकवानपुर – १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा हेटौंडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुरका ३१ वर्षीय चिकित्सक प्रियम यादव रहेका छन् । उनी हाल हेटौंडाको पशुपतिनगरनजिक डेरा गरी बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पीडितले मंसिर ६ गते साँझ ७ बजेर ५५ मिनेटमा घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । त्यसलगत्तै प्रहरीले सोही राति यादवलाई हेटौंडा अस्पतालबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पीडित र आरोपितबीच करिब एक महिनादेखि चिनजान तथा निकट सम्बन्ध रहेको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।