काठमाडौं– संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लंघनका विषयमाथि छलफल गर्ने कार्यसूची छ ।
बैठकमा जवाफ खोज्न गृहमन्त्री रमेश लेखकलाई बोलाइएको छ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ । बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।