AarthikBikash
शनिबार, बैशाख १३, २०८२
  • होमपेज
  • राजनीति
  • नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुन्छ : नेपाली कांग्रेस

नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुन्छ : नेपाली कांग्रेस

  • शुक्रबार, बैशाख १२, २०८२
नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुन्छ : नेपाली कांग्रेस

काठमाडौं-सत्तारुढ दल नेपाली कांग्रेसले नारायणहिटीमा राजा फर्काउन चिना टिप्पण नहेर्न आग्रह गरेको छ ।

राजसंस्था पुनःस्थापनाको अभियान बोकेर हिंड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको कांग्रेसले राजसंस्थाका पुनस्थापनका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने समेत दावी गरेको छ ।

शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने–‘कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्‍याएर यो देशको कल्याण हुन्छ भन्ने सपना नदेखे हुन्छ । चिना टिप्पण नहेरे हुन्छ । त्यसका लागि गरेका सम्पूर्ण टिप्पणी व्यर्थ हुनेछन् ।’

नेपाली कांग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन आवश्यक नभएको उनको भनाइ छ ।

‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको अडान नछाडेको नेपाली कांग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन पर्दैन,’ प्रमुख सचेतक घिमिरेले भने–‘नेपाली कांग्रेसले आफ्नो मार्गचित्र त्यसै बदलिएको हैन । नेपालको राजतन्त्रको अभिषप्त इतिहासलाई उल्ट्याएको मात्रै हो ।’

सम्बोधनको क्रममा उनले नेपालको राजतन्त्रमा संवैधानिक भइ बस्ने स्वभाव नै नभएको बताए । उनले भने–‘राजामा रहेको राजकीय अधिकारको दम्भ एवं शासन गर्ने तीव्र आकांक्षाले आज मुलुकलाई गणतन्त्रमा पुर्‍यायो । नेपाली कांग्रेसलाई दिशा बदल्न बाध्य पारियो । यसको लागि नेपालको राजतन्त्र आफैं दोषी छ ।’

नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन

नेपाली कांग्रेसले नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको पनि बताएको छ । प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताएका हुन् ।

उनले भने–‘आजको विश्वमा सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको अवस्थामा हामीले पनि वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन ।’

जिडिपीको ४०÷४२ प्रतिशत ऋण भार हुँदैमा आतिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भने–‘तर त्यो ऋण कति प्रतिफल युक्त आयोजनामा खर्च भयो महत्वपूर्ण हुन्छ ।’

नेपाल सम्भावनायुक्त मुलुक भएको र आन्तरिक सम्भावनालाई ख्याल गर्नुपर्नेमा उनको जोड छ । छिमेकी मुलुक भारत र चीनबाट नेपाले लन सक्ने जति फाइदा लिन नसकिरहेको समेत उनले बताए ।

‘कृषि उद्योग र जलस्रोत क्षेत्रमा छिमेकी मुलुकबाट लाभ लिन सक्दछौं । यी मानव सागरबाट हामीले पर्यटनमा लाभ लिन सक्छौं’ उनले भने । ठूला परियोजना नेपाल ल्याउन सक्ने यस निम्ति अन्तराष्ट्रिय लगानी आर्कषित गर्नुपर्ने उनले बताए । नेपालमा केही भएको छैन भन्ने भाष्य गलत रहेको भन्दै उनले थप प्रगतिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले देशमा व्यवस्था मात्रै परिवर्तन नभइ अवस्था पनि परिवर्तन भएको प्रष्टै आँखाले देखिएको दाबी गरे । पछिल्लो २० वर्षमा आँखाले देखिनेगरी धेरै परिवर्तन भएको उनको दावी थियो ।

उनले भने–‘विगतको २० वर्षमा केही पनि भएन, व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता देखिँदैन । व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको हामीले महसुस गरेका छौं ।’

संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश नेपालमा खोजेर सम्भव नहुने तर्क उनको थियो ।

‘तथ्यांकले मात्रै होइन यो हाम्रो आँखाले पनि देख्नेगरी आजभन्दा २० वर्ष अगाडिको समाज र अहिलेको समाजलाई हामीले तुलनात्मक ढंगले हेर्‍यौं भने निश्चय पनि यो हामीले देख्न सक्छौं,’ घिमिरेले भने–‘संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश खोजेर आज नेपालमा सम्भव नहोला ।’

Facebook Comments

सम्बन्धित समाचार