काठमाडौं-गएरातिदेखि परेको वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ भने काठमाडौं भित्रिने सूर्यविनायक–साँगा सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।
शनिबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सडकमा गाडि नै चिप्लिने भएकाले यो सडक भएर यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । सडक विस्तारको क्रममा रहेको दाउन्ने खण्डमा पानी पर्दा हिलो र नपर्दा धुलो हुने हुँदा यात्रा कष्टकर हुने गरेको छ ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ ।
रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यसैगरी, बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा जाने कान्तिलोकपथ पनि अवरुद्ध भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलामा डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो ।
त्यस्तै शनिबार रातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित भएको छ ।
चिप्लो सडकमा एकतर्फी रुपमा सवारी साधन चलिरहेका जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
गाडी चिप्लिएर जोखिम बढेपछि आज काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधनलाई मात्र साँगाबाट आउन दिइएको छ ।
त्यसैगरी भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधनलाई जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।
भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक गाडीलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ ।
भक्तपुर र काभ्रे जिल्ला जोड्ने सूर्यविनायक–जगाति सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको छ । निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका छन् । हल्का पानी परेका बेलामा पनि हिलाम्मे भएर सडकमा गाडी चिप्लिने गरेका छन् ।
बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन उकालो उक्लिन नसक्ने र सडकमै भासिने गरेका छन् । साना सवारी साधन भने चिप्लेर सडकबाट तल खस्नसक्ने भयका कारण प्रहरीले जान दिएको छैन ।