धनगढी-मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली जिल्ला कारागारमा शुक्रबार राति भएको हिंसात्मक झडपबारे गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको छ ।
आयोगको टोलीले शनिबार दिउँसो कारागारको निरीक्षण गर्दै फितलो सुरक्षा व्यवस्था, प्रशासनिक समन्वयको कमी र प्रणालीगत कमजोरीका कारण घटना भएको औंल्याएको हो ।
आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टका अनुसार, निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख विदामा भएकाले तत्काल निर्णय र समन्वयमा अभाव देखिएको थियो ।
साथै क्षमता भन्दा बढी कैदीबन्दी राखिएको, स्थानान्तरण प्रक्रियामा पारदर्शिता नहुँदा तनाव बढेको र आन्तरिक सुरक्षामा लापरवाही भएको प्रारम्भिक निष्कर्ष आयोगले निकालेको छ।
भट्टले कारागारभित्रका अन्य कैदीबन्दीको अवस्था सामान्य रहेको जनाउँदै घाइतेको उपचारमा कुनै कमी हुन नदिने र आफन्तसँग भेटघाट सहज बनाउने निर्देशन स्थानीय प्रशासनलाई दिएको बताए ।
उनका अनुसार, यसअघि कैदीबन्दीहरूले सामूहिक निवेदनमार्फत सुरक्षा असुरक्षा बारे चेतावनी दिइसकेका थिए, तर प्रभावकारी कदम नचालिएकाले घटना भएको हो ।
घटनामा धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ। प्रारम्भिक जानकारी अनुसार, ब्लक ‘ए’ मा रहेका कैदीबन्दीको समूहले भित्तामार्फत ब्लक ‘बी’ मा प्रवेश गरी आक्रमण गरेका थिए ।