काठमाडौं-कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर सम्बोधन गर्दै उनले राजीनामा दिएको बताएका हुन् । उनले भने–‘निजामती विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्नुपर्छ भनेर लागि पर्ने मै थिएँ र अझै छु । राजनीतिमा गरेको जस नपाइने । तर, नगरेको अपजस भोग्नुपर्ने रहेछ । नखाएको विष लाग्दैन ।’
समितिले आफूलाई किटान नगरेपनि जिम्मेवार भनेर बोध गरेको हुँदा हाँसी हाँसी सभापतिको पदबाट राजीनामा घोषणा गर्दछु ।
राजीनामा घोषणा गर्दै सभापति खतिवडाले निजामति विधेयकलाई संसद्बाट पारित गर्ने क्रममा स्थायी सरकार मानिने कर्मचारीमाथि धेरै विश्वास गर्नु आफ्नो कमजोरी रहेको बताए ।
उनले भने-‘अन्तिममा जसरी अध्ययन हुनुपर्दथ्यो, त्यसमा ध्यान नपुगेको म पनि स्वीकार गर्छु,’ खतिवडाले भने, ‘स्थायी सरकार कर्मचारीप्रति विश्वास गर्नु मेरो पनि कमजोरी रह्यो। आशंकायुक्त दृष्टिले नहेर्नु मेरो पनि कमजोरी रह्यो ।’
समितिमा आफूबाट त्यस्तो कुनै कमजोरी नभएको दाबी गर्दै उनले भने–‘मबाट त्यस्तो त्रुटिको कल्पना पनि हुन सक्दैन र भएको छैन भन्ने पनि संसदलाई विश्वास दिलाउन चाहान्छु ।’