काठमाडौं-अन्तरिम सरकारको तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ पार्टी निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ ।
तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।
यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।
स्रोतकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रिय कमिटी आउने छ । सम्भव भएसम्म आजै नभए भोलि दर्तामा जाने तयारी रहेको छ ।
केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको भनिएको छ ।
स्रोतले भन्यो- ‘बेलुकासम्म पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा सहमति जुटाउनको लागि छलफल भयो । सबै विषयमा सहमति भएको छैन । पार्टी दर्ता गर्न जानुअघि छलफल गरी आयोग जाने तयारी छ ।’
स्रोतका अनुसार उक्त पार्टीमा कुलमानसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ ,सागर ढकाल समेत जोडिने बताइएको छ ।
उपाध्ययको नेतृत्वमा पार्टी दर्ता गरेर कुलमानलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ ।