काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।
विशेष महाधिवेशनबाट पार्टी नेतृत्वसहित नयाँ कार्यसमिति आएपछि पौडेलले राजीनामा दिएका हुन्।
पौडेलले भने- ‘मैले राजीनामा दिएको छु नवनिर्वाचित सभापतिलाई आफ्नो ढंगले काम गर्न सहयोगका लागि पनि हो । त्योभन्दा बढी म आफ्नो निर्वाचन क्षेत्रमा खट्नुपर्ने भएर हो ।’
राष्ट्रिय सभा सांसदसमेत रहेका पौडेलले अरू कसैले राजीनामा मागेको नभई आफु निर्वाचन क्षेत्रमा खट्नुपर्ने भएर राजीनामा दिएको बताए ।
पौडेलले मुख्य सचिवका हैसियतमा पार्टीको लेटरप्याडमा सूचना जारी गर्दै आएका थिए । साथै उनको नामबाट विज्ञप्ति समेत आउने गरेको थियो । तर, आज केन्द्रीय समिति बैठकबारे सूचना पनि पार्टी सचिव प्रकाश शर्माले निकालेका थिए।
२०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।
यस्तै आधिकारिकता पाएपछि सभापति गगनकुमार थापा शुक्रबार केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएका छन्।
त्यसपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बस्दै छ । बैठकमा निर्वाचनबारे छलफलदेखि सभापति थापालाई प्रधानमन्त्रीमा घोषणा गर्ने सम्मका कार्यक्रम रहनेछन् ।