काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टीभित्र समेट्ने प्रस्ताव अघि सारेका छन् । पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पार्टीभित्र विचार समूहका भेला र छलफलप्रति आफूलाई कुनै आपत्ति नरहेको बताए ।
१४औँ महाधिवेशनबाट निर्वाचित भई हाल केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूलाई पुनः सक्रिय भूमिकामा आउन आह्वान गरे ।
उनले भने, ‘हामी पार्टीको केन्द्रीय समिति छौँ । केही साथीहरू अहिले समितिभन्दा बाहिर हुनुहुन्छ। जो १४औँ अधिवेशनबाट निर्वाचित हुनुभएको थियो, अहिले बाहिर हुनुहुन्छ, उहाँहरूलाई म आग्रह गरिरहेको छु यो कमिटीमा आउनुस्, सँगै बसेर काम गरौँ। त्यसका लागि मैले सभापतिको हैसियतले शीर्ष नेताहरूसँग संवाद गरिरहेको छु ।’
उनले पार्टीभित्र एकता कायम गर्नको लागि तीन प्रस्ताव अघि सारे। सदस्यता व्यवस्थापन, निर्वाचन समिति र अनुशासन समितिमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न आफू तयार रहेको बताए ।
उनले भने, ‘सदस्यता समितिमा को-को राख्ने हो, सबैको चित्त बुझ्ने गरी राखौँ । निर्वाचन समितिमा पनि सबैलाई फेयर लाग्ने गरी साथीहरू थपौँ । अनुशासन समितिमा पनि आशङ्का छ भने मिलाएर अघि बढौँ ।’
उनले आफ्नो प्रस्तावको सार नै सबै पक्षलाई समेट्दै पार्टीलाई एकताबद्ध बनाउने रहेको बताए। उनले भने, ‘मैले नेताहरूलाई यही भनेको छु । भेला गर्ने कुरासँग मेरो केही पनि आपत्ति छैन। पार्टीभित्र विचार समूह हुन्छ, भेला हुन्छ । हिजो हामीले गर्यौँ, आज अरूले गर्न पाइँदैन भन्ने हुँदैन ।’
पार्टीभित्रको आन्तरिक बहसले मात्रै कांग्रेसको भविष्य नबन्ने भन्दै थापाले जनतासँग पुनः संवाद गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे। करिब १० लाख मतदाता कांग्रेससँग असन्तुष्ट बनेको भन्दै उनीहरूलाई पुनः विश्वास दिलाउनुपर्ने बताए ।
उनले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई पनि प्राथमिकतामा राख्दै यसलाई अब अलमल्याउने विषय नबनाउन आग्रह गरे । वडा सभापतिहरूलाई सदस्यता अद्यावधिकको काम नगरे अर्कोलाई जिम्मेवारी दिने चेतावनी समेत दिए ।
उनले थपे, ‘यो अपडेट गर्ने काम विधानको व्यवस्था पनि हो । कुनै साथीले म यो काम गर्दिनँ भन्नुभयो भने धन्यवाद, अर्को दिन अर्को साथीलाई जिम्मा जान्छ। पार्टी कसैको कारणले रोकिँदैन ।’