काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जवज) पुरानो भयो भन्दैमा अवमूल्यन गर्न नहुने बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको भन्दै नेपालले हामीमा के–के विकृति र विसङ्गति आए भनेर आत्मसमिक्षा गर्नुपर्ने बताए।
उनले भने–‘मै हुँ भन्ने प्रवृत्ति भ्रष्टाचारीकरणको प्रवृत्ति, जनताबाट टाढिने प्रवृत्त्तिले हामीले समाज जनता बुझ्न सकेनौँ। बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौं । हामीमा के–के विकृतिहरू आए आत्मसमीक्षा गरौँ, एउटा पार्टीले मात्रै होइन, सबै कम्युनिस्ट घटकहरूले आत्ममन्थन गर्नुपर्छ।’
मन्थनपछि सही निष्कर्ष निस्किए बल्ल कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउन सकिने बताउँदै उनले भावनाको कुरा गरेर मात्रै नहुने बताए।
मदन भण्डारीका खुबी र दुरदृष्टिको अनुसरण गर्न सक्नुपर्ने भन्दै उनले वास्तविकताको धरातलमा उभिएर कुनै पनि चुनौतीको सामना गर्न सक्नुपर्छ भन्ने उनको (मदन) वास्तविक विशेषतालाई आत्मसात् गरेर अघि बढे कम्युनिस्टहरू एक ठाउँमा उभिनसक्ने बताए ।
उनले भने–‘यथार्थको धरातलमा टेकेर, सही ठाउँमा पुगेर, छलफल र बहस चलाएर मिल्न सक्ने कुरामा मिल्नुपर्छ । राष्ट्रियतामा ठूलो चुनौती छ । देशभक्त शक्तिहरूलाई पनि एकताबद्ध गर्नुपर्छ । विदेशीले हाम्रो देशमा हालीमुहाली गर्नबाट हामी सतर्क हुनुपर्छ ।’
वर्तमान सरकारको गतिविधि सन्देहास्पद भएको भन्दै नेपालले गणतन्त्र र लोकतन्त्र जोगाउन कम्युनिस्टहरूले अग्रसरता लिनुपर्ने बताए ।
उनले भने–‘जनताका समस्या सम्बोधन गर्ने कुरा होस् वा समस्या उजागर गर्ने कुरा होस् त्यो काम हामीले गर्नुपर्छ ।’ कम्युनिस्ट नेताहरूले आत्म केन्द्रीत चिन्तन परास्त गर्नुपर्नेमा जोड उनले दिए ।
नेता नेपालले त्यसका लागि कम्युनिस्टहरूबिच सहकार्य गर्दै एकता गर्नुपर्नेमा जोड दिए । उनले मिल्ने कुरा मात्र ठूलो नभएको बताउँदै भावनामा मिल्नुपर्ने बताए ।
उनले भने–‘अहिले खुब चर्चामा आउने गरेको छ, कम्युनिस्ट पार्टी आजै मिले, भोलि मिले, बिहानै मिले बेलुकै मिले, यो प्रश्नको जवाफ दिँदा मेरो पनि दिमाग खराब भइरहेको छ, मैले त्यस्तो देखिरहेकै छैन । जसजसले देख्नुभएको छ। ठिकै छ। जसले देखेको छ उसैले अगाडि बढ्ने हो, अगाडि बढेर इतिहास बनाउन सक्नुपर्छ।’
यसअघि सोही कार्यक्रममा बोल्दै नेकपाका संयोजक प्रचण्डले कम्युनिष्टहरुबीच सहकार्य नगर भयानक दुर्घटना हुने बताएका थिए भने नेकपाका सहसंयोजक खनालले समय र परिस्थितिले हिर्काउन थालिसक्यो, आजकै दिनबाट वामपन्थी एकतालाई अगाडि बढाऊँ भन्दै प्रस्ताव गरेका थिए ।