AarthikBikash
आइतवार, असार २१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चारजना घाइते

पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चारजना घाइते

  • आइतवार, असार २१, २०८३
पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चारजना घाइते

डोल्पा – डोल्पाको जगदुल्ला गाउँपालिकामा अविरल वर्षापछि आएको पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार बिहान करिब ३ बजे जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोलामा आएको हिलोसहितको बाढी घरहरूमा पसेको थियो । बाढीमा परी स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन् ।

प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ६० वर्षीय जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन् । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ भने अन्य तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक घटनापछि तनावका कारण बेहोस भएकाले स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीले एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको छ ।

प्रहरीले थप क्षतिको विवरण संकलन तथा घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार