काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकार नै राजनीतिक घटनाको वास्तविक राजनीतिकरण गर्ने पक्ष भएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युबारे सरकारसँग जवाफ माग्नु राजनीतिकरण नभई जनउत्तरदायित्वको विषय भएको बताए। ‘हामी किन आत्महत्या गर्नुपर्यो, किन समयमै उद्धार भएन, किन हेलिकप्टर पठाइएन भनेर प्रश्न उठाउँछौँ। त्यसलाई गृहमन्त्रीले राजनीतिकरण भन्नुहुन्छ,’ शाहीले संसदमा भने।
उनले कर्णालीका दुर्गम क्षेत्रमा उद्धारको अभावका कारण नागरिकले ज्यान गुमाउनुपरेको भन्दै सरकारले समयमै हेलिकप्टर नपठाएको विषयमा प्रश्न उठाउनु स्वाभाविक रहेको उल्लेख गरे। शाहीले गृहमन्त्रीलाई लक्षित गर्दै जेनजी आन्दोलनका क्रममा विद्यार्थीलाई अगाडि सारेर राजनीतिक लाभ लिँदै सत्तामा पुगेको टिप्पणी पनि गरे।
‘पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर, लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधि नै राजनीतिकरण हो। भिरमा अड्किएका नागरिकको उद्धार गर भन्नु राजनीतिकरण होइन,’ उनले भने। यसअघि प्रतिनिधि सभा बैठकमै गृहमन्त्री गुरुङले गणेश नेपालीको घटनालाई लिएर विपक्षी दलहरूले अनावश्यक राजनीतिकरण गर्न खोजेको आरोप लगाएका थिए। त्यसको जवाफस्वरूप शाहीले संसदमा सरकारको आलोचना गरेका हुन्।