AarthikBikash
शनिबार, साउन ३०, २०८३
  • होमपेज
  • राजनीति
  • झापा र इलामबाट सार्वजनिक कार्यक्रममा फर्किँदै ओली

झापा र इलामबाट सार्वजनिक कार्यक्रममा फर्किँदै ओली

  • शनिबार, साउन ३०, २०८३
झापा र इलामबाट सार्वजनिक कार्यक्रममा फर्किँदै ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली इलाम र झापाको कार्यक्रममा सहभागी हुन गृह प्रदेश आएका छन् । गएको फागुन २९ गते सम्पन्न निर्वाचनपछि ओली पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन झापा आएका हुन् ।

चन्द्रगढी विमानस्थलमा अवतरण भएर अध्यक्ष ओली इलामको फिक्कल तर्फ लागेका छन् । एमाले अध्यक्ष ओली लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने छन् ।

फिक्कलस्थि हुने कार्यक्रममा देशभरबाट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहने छ। कार्यक्रममा इलाममा रहेका एमालेका नेता तथा कार्यकर्तासमेत सहभागी हुनेछन्।

उनी आज इलामै बस्ने एमाले झापाका सचिव तुलसी कार्कीले बताए । कार्कीका अनुसार इलाम बस्दा अध्यक्ष ओलीले इलाम,पाँचथर, ताप्लेजुङका अगुवा कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहको छ । यस्तै अध्यक्ष ओलीले इलामको व्यापारी र वुद्धिजिवीहरुहरुसँग समेत भेट्ने कार्यक्रम तय भएको छ ।

भोलि भने अध्यक्ष ओलीले झापाबाट मिसन जनजागरण अभियानको शुभारम्भ गर्ने छन् । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी मिसन जनजागरण अभियान सुरु गरेको हो ।

गत फागुनमा भएको निर्वाचनमा भएको लज्जास्पद पराजयपछि जनतासँगको सम्बन्ध सुदृढ गर्न र पार्टी सङ्गठनलाई चलायमान बनाउन अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ । यो अभियान झापाबाट सुरु भएर ७ सय ५३ वटै पालिकाका वडा तहसम्म सञ्चालन हुने छ ।

 

सम्बन्धित समाचार