काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन, विधिको शासन र जवाफदेही प्रशासनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जवाफदेही प्रशासन निर्माण गर्नु आजको आवश्यकता भएको बताएका हुन्।
उनले आम नागरिकलाई विधिको शासनको प्रत्याभूति दिलाउन तथा संविधानबाट प्राप्त अवसर र उपलब्धिको संरक्षण र संस्थागत गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
‘आम नागरिकमा विधिको शासन प्रत्याभूत गर्न जरुरी छ। साथै, संविधानबाट प्राप्त अवसर र उपलब्धिहरू संरक्षण तथा संस्थागत गर्न एवं सुशासन र समृद्धितर्फ अगाडि बढ्न हामी सम्पूर्ण नेपालीहरूको साझा सहमति आजको आवश्यकता हो,’ राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्।
राष्ट्रपति पौडेलले संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताएका छन्। संविधानले प्रत्याभूत गरेका सेवा–सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।