काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार राति न्यूयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसनका अनुसार प्रधानमन्त्री शाह आफ्नो टोलीसहित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न भेटवार्ता र महासभालाई सम्बोधनपछि प्रधानमन्त्री बालेनको टोली स्वदेश फर्किएको हो ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डीसीस्थित नेपाली दूतावासका सीडीए एआई शरदराज आरण, न्यूयोर्कस्थित नेपालका कन्सुल जनरल दधिराम भण्डारी र अन्य नियोगका अधिकारीहरूले जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई बिदाइ गरेका थिए।
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरूले भने ८१औँ महासभाका सम्बन्धित बैठकमा आफ्नो सहभागिता निरन्तरता दिनेछन्।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटवार्ता गरेका थिए।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको बाढीलाई जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढिरहेको जोखिमको संकेतका रूपमा प्रस्तुत गरेका थिए।