धनुषा – धनुषामा प्रहरीमाथि लाठी–भाटा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेर ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
विदेह नगरपालिका–८ बफैमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त टोलीले स्थानीय २२ वर्षीय अजय मण्डललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मण्डलको साथबाट ब्राउन सुगरजस्तो देखिने करिब १४.४० ग्राम लागुऔषध बरामद भएको छ । लागुऔषध किनबेच भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीय ७–८ जनाको समूहले लाठी, भाटालगायतका सामग्रीले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको थियो ।
घटनामा एक जना प्रहरीसमेत घाइते भएका छन्।पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य ७ जनाको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।